धान उत्पादन बढ्यो , उत्पादकत्व हालसम्मकै उच्च

  • प्रकाशित मिति : December 29, 2020
  • नेपाल ज्योति

काठमाडौँ – (कोरोना महामारी) कारण बन्दाबन्दी र समयमा मनसुन सुरु भएका कारण यसपालि धान उत्पादन १.२८ प्रतिशतले बढेको छ तर पछिल्लो समय युरिया मलको अभावका कारण प्रक्षेपण गरेअनुसारको धान उत्पादन भने हुन सकेन ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दिएको जानकारीअनुसार यसपटक ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्षको तुलनामा ७० हजार ८३१ मेट्रिक टन बढी धान उत्पादन भएको हो ।
मन्त्रालयका अनुसार गत वर्ष ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो । मन्त्रालयका अनुसार यसपालि उत्पादकत्व हालसम्मकै सबैभन्दा बढी ३.८२ प्रतिशत पुगेको छ, जुन गत वर्षभन्दा ०.२८ प्रतिशतले बढी हो ।

कोरोना महामारीका कारण सहरका मान्छे गाउँ पुगेका कारण धान खेतीको क्षेत्रफलमा पनि वृद्धि भएको छ । गत वर्ष १४ लाख ५५९ हेक्टरमा खेती भएकोमा यसपटक वृद्धि भई १४ लाख ७३ हजार ४७४ हेक्टर पुगेको हो । यसरी क्षेत्रफलमा वृद्धि भएका कारण धान उत्पादनमा पनि वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

विगत पाँच वर्षको धान उत्पादन विश्लेषण गर्दा आर्थिक वर्ष २०७३र७४ को तुलनामा यो उत्पादन करिब ७.४८ प्रतिशतले बढी अर्थात् तीन लाख ९१ हजार मेट्रिक टनले बढी भएको मन्त्रालयले जनाएको छ । २०७४/७५ मा ५१ लाख ५१ हजार ९२५, २०७५/०७६ मा ५६ लाख १० हजार ११, र २०७६/७७ मा ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले लेखेका छन् ।