गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत फेला

  • प्रकाशित मिति : February 22, 2021
  • नेपाल ज्योति

गोरखा – गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ मा एकै परिवारका तीन जना मृत फेला परेका छन् । गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले तीन जना मृत फेला परेको पुष्टि गरेका छन । उनका अनुसार मृत भेटिनेमा ८४ वर्षीय डिलबहादुर गुरुङ, २१ वर्षीया आइतकुमार गुरुङ र १३ वर्षीया उषा गुरुङ छन् ।

सोमबार अबेरसम्म पनि कोही नउठेपछि स्थानीय डिलबहादुरको घरमा पुगेर हेर्दा मृत भेटिएको प्रहरीले जनाएको छ । स्थानीयले प्रहरीलाई खबर गरेपछि बारपाक प्रहरी चौकी घटनास्थलमा पुगेको थियो । प्रहरी पुग्दा मृतकको मुखबाट फिँज आइरहेको पाइएको एसपी गुरुङले जानकारी दिएका छन ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जौबारीबाट टोली गएको एसपी गुरुङले बताएका छन ।