बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु

  • प्रकाशित मिति : April 12, 2021
  • नेपाल ज्योति

बुटवल- बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-१ की ७१ वर्षीया र अर्घाखाँची मालारानी-५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका-३ का एकजना पुरुष छन् ।

तीनैजनाको सोमबार बिहान फरकफरक समयमा मृत्यु भएको हो ।

तिलोत्तमाकी महिलामा चैत २१ गते कोरोना संक्रमण देखिएकोमा २३ गते अस्पताल भर्ना भएकी थिइन् । उनको सोमबार बिहान ७:२७ मा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताएका छन । उनमा ज्वरो, दम र निमोनियाको समस्या रहेको उनले बताएका छन ।

यस्तै अर्घाखाँचीकी महिलामा चैत २७ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान ९:५० बजे मृत्यु भएका प्रवक्ता गौतमले बताएका छन । उनमा पनि ज्वरो, दम, निमोनियाको समस्या रहेको डा. गौतमले बताएका छन ।

कपिलवस्तुका पुरुषमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको र सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान ७:१४ बजे मृत्यु भएको प्रवक्ता गौतमले बताएका छन ।संक्रमित पुरुषमा मधुमेह, ज्वरो, दम, निमोनियाको समस्या रहेको उनले बताएका छन ।