त्रिभुवन विमानस्थललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक प्रस्थान गर्न प्रतिबन्ध

  • प्रकाशित मिति : April 27, 2021
  • नेपाल ज्योति

काठमाडौं – सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई पारगमन को रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाएको छ । नयाँ प्रकारको कोभिड–१९ को बढ्दो जोखिमलाई दृष्टिगत गरी यही वैशाख १५ गते मध्यरातदेखि लागू हुने गरी उक्त विमानस्थलबाट अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाइएको अध्यागमन विभागले बताएको छ ।

त्रिभुवन विमानस्थललाई अन्तिम गन्तव्य बनाएर विदेशबाट आउन तथा उक्त विमानस्थलबाट विदेश जान पाउने व्यवस्थामा भने कुनै फेरबदल नगरिएको पनि विभागले बताएको छ । छिमेकी देशहरुबाट सिधा उडान बन्द भएपछि पछिल्लो समय नेपाललाई ट्रान्जिटको रुपमा प्रयोग गरी विदेशिने प्रवृत्ति पछिल्लो समय बढिरहेको थियो । ट्रान्जिटको रुपमा नेपालको विमानस्थल प्रयोग गर्दा कोरोना भाइरसको संक्रमण थप फैलनसक्ने जोखिमलाई आंकलन गर्दै विभागले बन्द गरेको हो ।

पछिल्लो समय साउदी अरेविया लगायत केही मुलुकले भारतबाट सिधा उडान बन्द गरेपछि कतिपय भारतीय नागरिकहरु नेपाललाई ट्रान्जिटको रुपमा प्रयोग गरी बाहिरिने गरेका थिए ।