चार्टड तथा उद्धार उडान बाहेक सवै अन्तर्राष्ट्रिय उडान बन्द

  • प्रकाशित मिति : May 4, 2021
  • नेपाल ज्योति

काठमाडौं – कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गए रातिदेखि मुलुकको आन्तरिक उडान स्थगन गरेको छ । अन्तर्राष्ट्रिय उडान यही वैशाख २३ गते रातिदेखि स्थगित गरिनेछ ।  आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो।

सबै खालका उडान हाललाई वैशाख मसान्तसम्म बन्द हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। यसबीचमा पनि आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि भने अनुमति दिने निर्णय गरेको छ। यसअघि आइतबार नै आन्तरिक उडान कटौती गरिएको थियो। यस अवधिमा चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने क्यानले जनाएको छ । क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले आवश्यकताका आधारमा अनुमति लिएर आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैमा चार्टर्ड तथा उद्धार उडान हुने बताए ।

भारत र नेपालबीच एयर बबल प्रणालीअनुसार सातामा बढीमा दुई उडान हुनेछन् । भारतबाट नेपाल आउने यात्रुले १० दिन क्वारेन्टिनमा बस्नु पर्नेछ । मन्त्रिपरिषद्ले हवाई उडानसम्बन्धी पाँच बुँदे निर्णय गरेको छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुचीकृत गरेका होटलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने गरी नेपाल भारतबीच कायम एयर बबल सुविधाअन्तर्गतका दुईतर्फी उडानहरु साताको दुईवटामा सीमित गर्ने निर्णय भएको छ ।

सरकारले निषेधाज्ञा गरेसँगै सडक यातायात भने बन्द गर्ने निर्णय गरेको थियो। तर हवाइ यातायात खुल्ला गर्दा संक्रमणको जोखिम कायम रहेको भन्दै विरोध भइरहेको थियो। सीसीएमसीले हवाई उडान पनि बन्द गर्न सिफारिस गरेको थियो ।