राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि वादल सहित तीन जनाको उम्मेदवारी दर्ता

  • प्रकाशित मिति : May 7, 2021
  • नेपाल ज्योति

वैशाख २४ – आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ । राष्ट्रियसभा सदस्य उपनिर्वाचन निर्वाचन अधिकृतको कार्यालय, हेटौँडामा आज शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादल, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङले उम्मेदवारीपत्र मनोनयन दर्ता गराएको छन् । बादलले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट, देवकोटाले नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट र तामाङले नेपाल मजदूर किसान पार्टी (नेमकिपा) को तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
देवकोटालाई नेकपा (एमाले) को माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षको समेत समर्थनसहित साझा उम्मेदवारका रुपमा अघि सारिएको छ ।
गृहमन्त्री बादलको उम्मेदवारी मनोनयन गराउनु बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतसहित नेकपा एमालेका नेताहरु पुगेका थिए । यस्तै, देवकोटाको मनोनयन गराउन बागमती प्रदेश सभाको प्रमुख विपक्षी दलका नेता शालिकराम जम्कट्टेल, नेपाली काँग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ र तामाङको उम्मेदवारी दर्ताका लागि बागमती प्रदेश सभाका प्रदेश सभा सदस्य सिर्जना सैजुलगायतका नेमकिपाका नेताहरुको उपस्थिति रहेको थियो